लालझाडी गाउँपालिकाको ताला खुल्यो

 कञ्चनपुर,

वडा कार्यालय सार्ने विषयमा विवाद भएपछि सत्ताधारी नेकपा सहित स्थानीयले लालझाडी गाउँपालिका प्रमुख र वडाअध्यक्षको कार्यकक्षमा लगाएको ताला खुलेको छ ।

गत शुक्रबार नेकपा सहित स्थानीयले लालझाडी गाउँपालिका अध्यक्ष मदन सेन बडायक र लालझाडी गाउँपालिका ३ का वडाध्यक्ष टीकाराम चौधरीको कार्यकक्षमा तालाबन्दी गरेका थिए । आईतबार नेकपा कञ्चनपुरका अध्यक्ष बीर बहादुर थापा(पातल)को अध्यक्षतामा बसेको बैठकले स्थानीय सहित नेकपाले अघि सारेको मागमा जनप्रतिनिधी सहमत भएपछी ताला खुलेको हो ।

नेकपा लालझाडीका युवा नेता अमर सिह रानाले लालझाडी गाउँपालिका ३ वडा कार्यालय नयाँ ठाँउमा बनाउने भनिएको विषयमा छलफल गर्दा स्थानीयले अघि सारेको माग बमोजिम गाउँपालिकाका प्रमुख बडायक र वडाध्यक्ष चौधरीले स्थगत गर्ने सहमती जनाएपछि ताला खोलिएको बताए । ‘हाम्रो मागमा अहिले जनप्रतिनिधी सहमत भएका छन्, ‘उनले भने, ‘हाल जहाँ त त्यहीबाट सेवा प्रदान हुन्छ, नयाँ ठाँउमा स्थगन गरियो ।’ नेकपा सहित स्थानीय संग भएको भद्र सहमती कार्यान्वयन नभए आन्दोलन छेड्ने उनले चेतावनी दिए ।

नेकपा लालझाडीका सचिव निर्मल रानाले नेता, जनप्रतिनिधी एव स्थानीयले वडा कार्यालय बनाउने विषय रोकेर सबैको पायक पर्ने ठाँउमा बनाउनुपर्नेमा सहमती भएको बताए । वडा कार्यालय एकान्त अपायक पर्ने ठाँउमा सारिन लागेपछि स्थानीय सहित नेकपाको वडा कमिटी स्वयम आन्दोलित भएका थिए । नेकपा कञ्चनपुरका अध्यक्ष थापा नेतृत्वको टोलीले तीन सातादेखि अल्झिएको विवाद टुङ्गो लगाएपछि सोमबारदेखि वडा र गाउँपालिका कार्यालय नियमित खुल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्